राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने देखेपछि प्रतिष्ठानका रेक्टार डा वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेप्यूटी रजिष्ट्रार झंकार लामिछानेले राजीनामा दिएका हुन्।
राष्ट्रिय सतर्कता केन्द्रले ती पदाधिकारीहरुको नियुक्ति नै कानुन मिचेर गरिएको भन्दै कारबाहीका लागि अख्तियारमा फाइल पठाएपछि उनीहरुले राजीनामा दिएका हुन्। रेक्टार डा लामिछानेले असोज १८ गतेदेखि नै लागू हुने गरी, रजिष्ट्रार थापाले बुधबारदेखि लागू हुने गरी र डेप्यूटी रजिष्ट्रार लामिछानेले असोज २५ गतेबाट लागू हुने गरी राजीनामा बुझाएका स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ ।
सतर्कताका एसपी गणेशकुमार श्रेष्ठ, डिएसपी बुद्धिराम खनाल र लेखापाल नवराज सुवेदी सम्मिलित छानबिन समितिले उनीहरुको नियुक्तिका विषयमा गरेको छानबिनका क्रममा उनीहरुलाई प्रतिष्ठान ऐन, नियमावली विपरित नियुक्त गरिएको तथ्य फेला पारेका थिए। त्यसपछि सतर्कताले उनीहरुसहित नियुक्तिका लागि सिफारिस गर्नेलाई पनि कानुनअनुसार कारबाही गर्ने सुझाव सहितको फाइल अख्तियारमा पठाएको थियो। अख्तियारमा पठाएको फाइलमा ती पदाधिकारीले हालसम्म खाइपाई आएको तलबभत्ता र सुविधा असुल गर्न पनि भनिएको छ।