आगामी कात्तिकको तेस्रो साता लिन लागेको चिकित्सा शिक्षा शास्त्र संकाय तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा परीक्षार्थीहरुको बायोमेट्रिक लिने भएको छ । चिकित्सा शिक्षा आयोगले आगामी १८ देखि २२ कात्तिक सम्म सञ्चालन हुने परीक्षामा सहभागी परीक्षार्थीहरुलाई परीक्षा हलमा प्रवेश गर्नु अघि गेटमा दुईवटा औलाको बायोमेट्रिक लिने भएको हो । गेटमा औलाको बायोमेट्रिक पछि परीक्षा हल भित्र प्रवेश पाउने परीक्षार्थीले हाजिरीमा औलाको ल्याप्चे समेत लगाउनु पर्ने आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षार्थीको बायोमेट्रिक लिन व्यवस्था मिलाइएको बताए ।
यसअघिका केही परीक्षामा नक्कली परीक्षार्थी समेत भेटिएको भन्दै आयोगले त्यसलाई नियन्त्रण गर्न बायोमेट्रिक लिन लागिएको आयोगको भनाई छ ।
परीक्षार्थीलाई बायोमेट्रिक लिने पद्धतीको सुरुवात नेपाल मेडिकल काउन्सिलले गरेको थियो । काउन्सिलले दर्ता लाइसेन्स परीक्षामा विद्यार्थीहरुको बायोमेट्रिक लिएर मात्रै हल भित्र प्रवेश गर्न दिने गरेको थियो । अब आयोगको परीक्षामा पनि बायोमेट्रिक लिने भएको छ ।