सल्यानको शिद्ध कुमाख गाउँपालिका–६ का दीपक बस्नेत दुईवर्ष अघि रुखले च्यापेर घाइते भए। त्यसयता उहाँका खुट्टा चल्दैनन् । उनको उपचारका लागि विभिन्न अस्पतालमा धाउनुभयो, लाखौँ खर्च भयो । त्यसबाट पनि सहज हुन सकेन । यहीबीचमा तुलसीपुर उपमहानगरपालिका–६ स्थित अपाङ्गता समाज सुधार केन्द्रले थेरापी सेन्टर सञ्चालनमा ल्याएपछि उनलाई केही राहत भएको छ । निःशुल्क सेवा र खानाको व्यवस्थापछि सहज भएको उनको भनाइ छ ।
यस्तै, सल्यानकै दार्मा गाउँपालिका–१ निवासी धनबहादुर वलीले पनि सोही ठाउँमा थेरापी गराएरहेका छन । लामो समयदेखि खुट्टा नचल्ने र राम्ररी बस्नसमेत नसक्ने उनी विगत दुई महिनादेखि थेरापी गराउन थालेपछि केही सहज महसुस भएको बताए ।
प्यूठान मान्डवीका विशाल सुनार पनि पाँच वर्षअघि रुखबाट लडेर मेरुदण्डमा चोट लागेर थला परे । उपचारबाट पनि सञ्चो नभएपछि उनका लागि पनि यही थेरापी सेन्टर सहारा बनेको छ ।
उनीहरू मात्रै होइन हाल साविक राप्तीका पाँच वटै जिल्लाबाट यस्तै समस्या लिएर आउनेहरूलाई राहत भएको छ । केन्द्रका संस्थापक अध्यक्ष हुमकान्त कँडेल दैनिक १२ जनाले थेरापी सेवा लिइरहेको बताए । सल्यान, प्यूठान, रोल्पा, दाङ, रुकुमलगायतका बिरामीहरू यहाँ आउने गरेको उनले बताए।
अपाङ्गता समाज सुधारले प्रदेश सरकारको सहयोगमा उक्त थेरापी सेन्टर सञ्चालनमा ल्याएको हो । विसं २०७८ चैतमा सञ्चालनमा आए पनि पर्याप्त सहयोग भने नपाइएको कँडेलको गुनासो छ । हाल तुलसीपुर उपमहानगरपालिकाले वार्षिक रु चार लाख सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उक्त सहयोगबाट एक जना ‘थेरापिष्ट’ र दुई जना कार्यालय सहयोगीको तलब व्यवस्थापन भएको छ ।
“यो पनि तलब निकै न्यून छ । बिरामी थपिँदै गएका छन् । कम्तीमा दुई जना फिजियोथेरापिष्ट र तीन जना सहयोगीको आवश्यकता छ । यसमा सरोकार भएका निकायबाट थप सहयोगको अपेक्षा गरेका छौँ”, अध्यक्ष कँडेलले भन्नुभयो,“केन्द्रको एकतले भवन छ । थेरापीका लागि चाहिने सबै सामग्री भए पनि राख्ने ठाउँ छैन । अर्को तला थप गर्न सकेमा मात्रै सहज सेवा दिन सकिने छ ।”
उनले बिरामीलाई आवाससहितको सेवा दिने हाम्रो लक्ष्य भए पनि भवन र आर्थिक व्यवस्थापन गर्न नसकिएकाले समस्या भएको बताए । लुम्बिनी प्रदेशमा सरकारीस्तरबाट सञ्चालित दुईवटा मात्रै थेरापी सेन्टर रहेकाले यिनको व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने सरोकार भएकाहरूको भनाइ छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1