तीनदिने दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। मानसिक स्वास्थ्य समस्याको बढ्दो भार र गुणस्तरीय सेवा आवश्यकताको गहिरो खाडल रहेको सम्मेलनले औँल्याएको छ।
घोषणापत्र जारी गर्दै सम्मेलनले मानसिक स्वास्थ्य समस्याबारे समाजमा व्याप्त कलङ्क र बिरामीमाथि हुने भेदभावको अन्त्य गर्नुपर्नेमा जोड दिएको छ। सबै क्षेत्रमा मानसिक स्वास्थ्य पेसाकर्मीको कमी रहेको घोषणापत्रमा औँल्याइएको छ। जारी घोषणापत्रमा स्वास्थ्यकर्मीमा मानसिक थकान र समस्याको बढ्दो जोखिम तथा जनशक्ति पलायनको समस्या रहेको उल्लेख गरेको छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सरकार, सार्वजनिक संस्था तथा गैरसरकारी संस्थाले गरेको प्रयासलाई घोषणापत्रमा सराहना गरिएको छ। सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सेवाको उपलब्धता र संवर्द्धनका निम्ति सरकारलाई दिएको ऐतिहासिक निर्देशनात्मक आदेशको उच्च सराहना एवं स्वागत गर्दै सम्मेलनले नेपालमा मानसिक स्वास्थ्य सेवाको प्रवर्द्धनका काम गर्न सरकारलाई घच्घच्याएको छ।
सबै तहका सरकार तथा गैरसरकारी क्षेत्रबीच समन्वय, सहकार्य र सहयोगमा वृद्धि गरी मानसिक स्वास्थ्य सेवासम्बन्धी संवैधानिक अधिकार सुनिश्चित गर्न सम्मेलनले माग गरेको छ। समुदायमा मानसिक स्वास्थ्यका बारेमा सचेतना अभिवृद्धि तथा अधिकार–आधारित मानसिक स्वास्थ्य प्रवर्द्धन, रोकथाम, उपचार र पुनः स्थापनामा सशक्तीकरण गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ।
चितवन मेडिकल कलेजमा आयोजित कार्यक्रम नेपाल र अमेरिकालगायतका विदेशमा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थाले संयुक्त रुपमा आयोजना गरेका हुन्। सम्मेलनमा नेपाल, भारत, नर्वे, अमेरिकालगायतका देशबाट ३०० भन्दा बढी सहभागी थिए। वैज्ञानिक सत्रमा १०० भन्दा बढी शोधपत्र प्रस्तुत गरिएका थिए।