काठमाडौं । प्रोष्ट ग्राजुएट्स (पीजी) तहका चिकित्सकलाई सरकारी मेडिकल अधिकृत (आठौं तह) सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
संघले शुक्रबार (आज) सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।
बिहिबार माइतिघर मण्डलामा आन्दोलन र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसंग भएको सम्वादबाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारेको संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले बताए ।
तर आन्दोलनले देशका विभिन्न क्षेत्रबाट उपचार तथा परीक्षणका लागि आएका हजारौँ बिरामी प्रभावित हुने भएका छन् । स्वास्थ्य संस्थालाई अत्यावश्यक क्षेत्र मानिएको छ । यसमा हडताल तथा बन्द सेवा बन्द गर्न निषेध गरिएको छ ।
संघका अनुसार काठमाडौँ उपत्यकामा चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने र मोफसलमा सम्वन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिनेछन् ।