बर्दिया । बर्दिया कारागारमा औषधी उपचारका लागि बजेट अभाव भएको छ । कारागारमा भएका कैदीबन्दीको सङ्ख्या अनुसार औषधी उपचार खर्च नआउँदा उपचारमा समस्या भएको हो ।

आर्थिक वर्ष समाप्त हुँदासम्म सिटामोलसमेत अभाव भएको बर्दिया कारागारका कैदी बताउँछन् । कारागारका आन्तरिक प्रशासन प्रमुख हरिकृष्ण भुजेलले क्षमताभन्दा बढी कैदी भएको हुनाले सरुवा रोग छिट्टै सर्ने गरेको बताए ।

“कैदीबन्दी राम्रोसँग सुत्नसमेत पाउँदैनन् । त्यसैले पनि धेरै बिरामी हुने गर्छन्,” उनले भने , “कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्, त्यसैले पनि गर्मीको समयमा धेरै बिरामी हुन्छन् भने सरकारले सङ्ख्या अनुसार औषधी खर्च नपठाउँदा समस्या भएको छ ।” कारागारमा कैदीबन्दीलाई अत्यधिक ज्वरो आएमा, पखाला लागेमा स्लाइन पानी चलाउनुपर्ने, सुइ लगाउनुपर्ने हुन्छ । कारागारमा कार्यरत अहेब चक्रबहादुर सिंहले त्यसका लागि खर्च महँगो पर्ने हुनाले पनि सामान्य बिरामी भएमा समेत अस्पताल दौडाउनु परेको बताए ।

बर्दिया कारागारमा हरेक वर्ष करिब चार लाख रुपियाँ आउने गरेको छ । बर्दिया कारागारका प्रमुख नरबहादुर सार्कीले माग धान्नका लागि १० लाख रुपियाँभन्दा बढी रकम खर्च हुने बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0