काठमाडौं । स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको ११ औं शिखर सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। चैत २८ देखि ३० सम्म काठमाडौंमा आयोजना गरिएको ११ औं शिखर सम्मेलनले ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

जलवायु परिवर्तन, जनसांख्यिकीय परिवर्तन, नयाँ स्वास्थ्य चुनौतीहरू र विद्यमान असमानताहरू जस्ता विश्वव्यापी समस्याहरूको सन्दर्भमा वैज्ञानिक प्रमाणको आवश्यकता अझै गहिरो र अत्यावश्यक भएको निष्कर्ष निकालिएको परिषदका कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले बताए ।

उनका अनुसार यो सम्मेलनले स्वास्थ्य, जलवायु परिवर्तन र जनसंख्या गतिको अन्तर्सम्बन्धमाथि चर्चा गर्दै प्रभावकारी स्वास्थ्य नीतिहरू र अभ्यासहरू निर्माणका लागि अन्तरविषयगत अनुसन्धानको महत्वलाई विशेष रूपले उजागर गरेको छ ।

यस्तो छ सम्मेलनबाट जारी ६ बुँदे घोषणा पत्र

१. संघीय सन्दर्भमा उत्तरदायी अनुसन्धान अभ्यास र प्रमाणमा आधारित नीति निर्माण, योजना र प्रभावकारी कार्यान्वयन प्रवर्द्धन गर्न संस्थागत र कानुनी व्यवस्था पुनरावलोकनमार्फत स्वास्थ्य अनुसन्धान शासन प्रणालीलाई सुदृढ र समन्वयी बनाउने।

२. तथ्य आधारित निर्णय प्रक्रियालाई प्रवर्द्धन गर्न गुणस्तरीय अनुसन्धानलाई प्राथमिकता दिँदै स्वास्थ्य, जनसंख्या र वातावरणसम्बन्धी अनुसन्धानमा लगानी वृद्धि गर्ने।

३. युवा अनुसन्धानकर्ताहरूलाई प्रोत्साहन र अनुभवी अनुसन्धानकर्ताहरूलाई देशमै रहने अनुकूल वातावरण निर्माण गरी स्वास्थ्य अनुसन्धानमा मानव संसाधन प्रवर्द्धन गर्ने।

४. गुणस्तरीय अन्तरविषयगत अनुसन्धानलाई प्रवर्द्धन गर्दै विद्यमान तथा नयाँ स्वास्थ्य समस्याहरू र भविष्यका महामारीहरूमा प्रभावकारी प्रतिक्रिया दिन अनुसन्धानकर्ता, नीति निर्माता, शैक्षिक संस्था, वैज्ञानिक, नागरिक समाज, निजी क्षेत्र र समुदायबीच सहकार्य सुदृढ गर्ने, साथै डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता ९एआई० जस्ता प्रविधिको उपयोगमार्फत अनुसन्धानको गुणस्तर बढाउने।

५.वन हेल्थु दृष्टिकोणबाट स्वास्थ्यका व्यापक निर्धारकहरूमा आधारित अन्तरविषयगत अनुसन्धान, कार्यान्वयन अनुसन्धान र क्लिनिकल अनुसन्धानलाई प्रवर्द्धन गर्ने।

६.नियमित तालिम, फेलोसिप र अनुदानमार्फत अनुसन्धानकर्ताहरूको स्वास्थ्य अनुसन्धान क्षमता अभिवृद्धि गर्ने।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0