स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ। दशौँ वर्षमा प्रवेश गर्न लागेको पूर्व सन्ध्यामा बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा कार्यक्रमको सम्बन्धमा श्वेतपत्र जारी गरेको हो।
बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।
स्वास्थ्य बीमा बोर्डले फागुन मसान्तसम्म सेवा प्रदायकलाई १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ । आइतबार बोर्डले पत्रकार सम्मेलन गरेर बोर्डको स्थितीका सम्बन्धमा जारी गरेको ४५ बुँदे श्वेतपत्रमा आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उल्लेख छ ।
‘चालु आर्थिक वर्षको बाँकी अवधि थपिने दावी समेतलाई अनुमान गर्दा यो आर्थिक वर्षको अन्तसम्म कुल २४ अर्ब रकम भुक्तानीका लागि बाँकी हुने देखिन आउँछ, श्वेतपत्रमा भनिएकाे छ, ‘समयमा भुक्तानी दिने क्षमता विकास गर्नुपर्ने चुनौती रहेको छ ।’ श्वेतपत्रमा स्वास्थ्य बीमाको फैलावट ७७ जिल्लाको ७४९ स्थानीय तहमा विस्तार भएको उल्लेख छ । तर, कुल ८९ लाख ५२ हजार १३५ जना बिमितमध्ये ५७ लाख ५३ हजार ८१७ विमित सामान्य क्रियाशील रहेको श्वेतपत्रमा छन् । जुन कुल जनसंख्याको २० प्रतिशतमात्रै हो । बोर्डले ८० प्रतिशतलाई समेट्न थप मेहनत गर्नुपर्ने जनाएको छ ।
श्वेतपत्र जारी गर्दै बोर्डका कार्यकारी निर्देशक डा रुघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने योजनामा अघि बढी सकेको भन्दै यसमा सबैको साथ आवश्यक रहेको बताए । वर्तमान अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमले २२० प्रतिशत मेडिकल घाटा व्यहोरिरहेको भन्दै त्यसलाई सुधार गरी दिगो रुपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
साथै अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका छन।
‘स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य बीमा नियमावलीमा केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेका छन् । जसले सेवा प्रवाहलाई सवै पालिकासम्म पुर्याउन, स्रोत साधन जुटाउन, सेवा प्राप्त गर्नेक्रम अहिले रहेको प्रथम विन्दुको अप्ठारो छ त्यसलाई हटाउनको लागि महत्वपुर्ण भुमिका खेल्नेछ ।’
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीले छरिएका सामाजिक स्वास्थ्यका कार्यक्रमहरु स्वास्थ्य बीमा बोर्डबाट सुरु गरिएको बताए ।‘नेपालमा औपचारिक क्षेत्रबाट सुरु हुनुपर्ने स्वास्थ्य बीमा अनौपचारिक क्षेत्रबाट लागु गरियो । त्यसका कारण खाडल जम्मा भएको छ । अव सही तरिकाले ऐनले व्यवस्था गरेको कुरालाई सम्पूर्ण क्षेत्रमा लागु गर्न हामी क्रियाशील छौ । राज्यबाट छरिएर रहेका विभिन्न सामाजिक स्वास्थ्यका कार्यक्रमहरु छन् । यसलाई एकद्धार प्रणालीबाट बीमा बोर्डबाट सञ्चालन गर्नेगरी हामीले काम सुरु गरिसकेका छौ,’ उनले भने ।
उनले बीमा बोर्डको जनशक्तिलाई सशक्तिकरण गर्न स्थाई कर्मचारीहरुलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बताए ।स्वास्थ्य बीमा पछिल्लो समय आर्थिक संकट झेलिरहेका बेला बोर्डको नयाँ नेतृत्वले श्वेतपत्रमार्फत स्वास्थ्य बीमा बोर्डको अवस्था श्वेतपत्रमार्फत सार्वजनिक गरेको हो ।