लुम्बिनी प्रादेशिक अस्पतालले इन्डोस्कोपी सेवाका लागि महिनौँ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैनिक रूपमा सेवा सुरु गरेको छ ।
इन्डोस्कोपी सेवाका लागि यसअघि आइतबार, मङ्गलबार र बिहीबार तीन दिन समय छुट्याउँदै आएकोमा अब दैनिक रूपमा नै यो सेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ । अस्पतालमा रहेको तीन वटा इन्डोस्कोपी मेसिनबाट अब दैनिक ३० देखि ५० जनासम्मलाई यो सेवा उपलब्ध गराइने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए ।
अस्पतालका इसिजी इन्डोस्कोपी विभाग प्रमुख भेषराज बन्जाडेले स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच विस्तार गर्दै अस्पतालमा इन्डोस्कोपीका लागि महिनौँ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैनिक रूपमा नै यो सेवा उपलब्ध भएको जानकारी दिए ।विगतमा इन्डोस्कोपी गर्नका लागि बिरामीले तीन महिना लामो समय पालो कुर्नुपर्ने अवस्था रहे पनि अब भने एकै दिनमा सेवा उपलब्ध गराउने उनले बताए।
प्रमुख बन्जाडेका अनुसार इन्डोस्कोपीबाट शरीरका विभिन्न भित्री अङ्गमा भएका घाउ तथा रोग पत्ता लगाउने गरिन्छ । इन्डोस्कोपीपछि कोलोनोस्कोपीका लागि समेत अस्पतालले तयारी गरेको छ । पेटमा समस्या भएमा, क्यान्सरको पारिवारिक इतिहास परीक्षण, क्यान्सर पत्ता लगाउन तथा त्यसको निगरानी गर्न, ठुलो आन्द्रामा भएको मासु पत्ता लगाउन र हटाउन तथा शल्यक्रियापछिको निगरानीका लागि कोलोनोस्कोपी गरिने बन्जाडेले बताए ।