कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई सर्पले डसेको र उहाँको उपचार भइरहेको छ ।
मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिनुभयो । करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो । शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उहाँको हातमा समेत डसेको घटनास्थल पुग्नुभएका डगौरा थारूले बताए ।
“सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते हुनुभएकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो”, वडाध्यक्ष डगौरा थारूले भन्नुभयो, “पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो ।”
घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए । बालिकाको बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्ला बाहिर रहनुभएको बताइएको छ । गर्मीयाममा खासगरी तराईका जिल्लामा विषालु सर्पको डसाइले धेरै व्यक्तिको मृत्यु हुने गरेको छ ।
गर्मी मौसममा तराईका जिल्लामा गोमन, करेत, पानीसर्प, धामन, अजिङ्गर बिगबिगी हुने गर्छ ।