सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।तर भूकम्पबाट कुनै मानवीय तथा ठूलो भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार मध्यरातमा भूकम्प गएपनि कुनै मानवीय क्षति भने भएको छैन । भूकम्पबाट ठूलो भौतिक क्षति भएको जानकारी समेत नआएको उनले बताए ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षति देखिएको छ, त्यसबाहेक कुनै मानवीय र ठूलो भौतिक क्षति भएको जानकारी आएको छैन, डीआईजी आचार्यले भने, सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा एक ठाउँमा सुख्खा पहिरो खसेको छ । त्यसबाट पनि क्षति भएको छैन ।

सिन्धुपाल्चोकमै एक भाग्नेक्रममा लडेर एक कैदीको हात भाँचिएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २.५१ बजे भूकम्प गएको थियो । काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0