महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर निवारणको उद्देश्य अनुरुप दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यही माघ २२ देखि २५ गतेसम्म एचपिभी खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
विश्वमै भयावह प्रकोपको रुपमा फैलिरहेको पाठेघरको मुखको क्यान्सर रोगको निवारणका लागि नेपाल सरकारको संघीय सशर्त अनुदानबाट स्थानीय तहमा प्रदान गरिने कार्यक्रमबाट उक्त खोप कार्यक्रम देशैभरका स्थानीय तहहरुमा माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई एचपिभी खोप कार्यक्रम सञ्चालन गरिनेछ । सोही कार्यक्रम कोन्ज्योसोममा माघ २२ देखि २५ सम्म सञ्चालन गरिनेछ ।
एचपिभी खोप अभियान तथा नियमित खोपमा एचपिभी खोप सुरुवातको लागि शनिबार आयोजित कोन्ज्योसोम गाउँपालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जयराम सञ्जेलले विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्राहरु तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका लक्षित किशोरीहरुलाई उक्त खोप प्रदान गरिने जनकारी दिए ।
खोप कार्यक्रम सञ्चालनका लागि सञ्जेलकै संयोजकत्वमा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुखहरु सदस्य रहेको एइएफआई व्यवस्थापन समिति समेत गठन भएको छ । सञ्जेलका अनुसार गाउँपालिकाभित्रका ११ विद्यालयहरुमा उक्त कार्यक्रम लागु गरिनेछ भने गाउँपालिकाभित्र खोप कार्यक्रमबाट लाभान्वित हुने छात्रा तथा किशोरीहरुको सङ्ख्या ४ सय ११ रहेको छ । विद्यालयमा छुटेका किशोरीहरुलाई सबै वडाका स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराईनेछ।
अभिमुखीकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको अवस्थाबारे जानकारी गराउँदै विश्व स्वास्थ्य संगठनकी डब्लुएचआईपिडी सहजकर्ता दिपाली थापाले विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र अहिलेकै अनुपातमा यो सङ्ख्या बढ्दै गए सन् २०३० सम्ममा यो सङ्ख्या ७ लाख पुग्ने बताइन् ।