काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिलेको अवस्थाबारे स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताएका छन् । आज बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनःसेवा शुभारम्भ गर्दैै उनले अहिलेको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रमलाई सञ्चालन गर्ने हो भने राज्यले थेक्न नसक्ने भन्दै बिमा कार्यक्रमलाई पुनः संरचना गर्न आवश्यक रहेको बताए ।
विसं २०८० असारमा बन्द भएको अस्पताल नयाँ व्यवस्थापनमा पुनःसञ्चालन आएको हो ।
मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरे मात्र सबै नागरिकको उपचार सम्भव हुने बताए । उनले आफूले स्वास्थ्य बिमा चल्दैन भनेको नभई अहिलेको प्रणालीबाट सञ्चालन गर्न समस्या हुने मात्र बताएको बताए ।
“मैले बिमा चल्दैन भनेको होइन । अहिलेकै अवस्थामा बिमालाई चलाउने हो भने राज्यले थेक्न सक्दैन”, मन्त्री पौडेलले भने, “नागरिक आधारित बिमा बनाउनुपर्दछ । अहिलेको बिमाबाट सबैको उपचार गर्न असम्भव छ ।” उनले स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले बिमा सञ्चालन गर्नका लागि नियमित आम्दानी हुने सुरक्षित कोष बनाउनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता स्वास्थ्यका कार्यक्रमलाई स्वास्थ्य बिमामा गाभ्नुपर्ने बताए । उनले कर्मचारी, कर तिर्ने मानिसको र बिमा गरेवापत सङ्कलन भएको रकमले बिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले राष्ट्रिय परिचयपत्र, राहदानी लिँदा अनिवार्य स्वास्थ्य बिमा गरेको हुनुपर्ने बताए । उनले प्रमाणीकरण भइसकेका मिर्गौला र पार्किन्सन रोगका लागि पाँच लाखसम्मको उपचारको व्यवस्था बिमा कार्यक्रमबाट गरिन थालेको जानकारी दिए ।
मन्त्री पौडेलले अस्पतालको नाम महेन्द्रनारायण निधिसँग जोडिएकोले छुट्टै सन्देश हुने भन्दै अस्पताल समितिसँग सहकार्य गर्ने बताए । उनले महेन्द्रनारायण निधिले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडेको र कुनै स्वार्थमा नविकेको व्यक्ति भएको बताए ।
कार्यक्रमममा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अस्पताल सञ्चालनमा कतिपय कठिनाई भएको पनि पुनः नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन आएको खुशी व्यक्त गरे ।
अस्पतालका निर्देशक डा।विनोद अर्यालले अस्पताललाई क्यान्सर अस्पतालको रूपमा विकास गर्नका लागि पुनः अस्पताल सञ्चालन गरिएको बताए । उनले मधेश र पहाडलाई जोड्ने सेतुको रूपमा अस्पताल रहने जानकारी गराए ।