क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उनको केही बेरअघि हर्नियाको शल्यक्रिया गरिएको छ । सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो ।
पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । अस्पतालमा डा दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो । करिब डेढ घण्टामा शल्यक्रिया सकिएको हो ।सन्दीप ४/५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा अभिषेक राज सिंहले बताए । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् । ‘उहाँले एक महिना रेस्ट गर्नुपर्छ, अन्यथा विभिन्न जोखिमहरु हुन सक्छन्’, डा सिंहले भने ।
के हो हर्निया
पेटभित्रका अंग फुलेर बाहिर गाँठोजस्तो देखिने समस्यालाई हर्निया भनिन्छ । पेटको मांसपेशीकमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । उक्त प्वालबाट पेटभित्रको बोसो आन्द्रा सुन्निएर आउँछ र गाँठो जस्तो देखिन्छ ।
हर्नियाको उपचारमा ढिलाइ भएमा बिस्तारै आन्द्रा कुहिन सक्ने चिकित्सकहरु बताउँछन् । हर्निया शरीरको विभिन्न भागमा धेरै किसिमको हुन सक्छ ।