कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूमा बुधबारदेखि दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् । यो निर्णयले प्रदेशका १४ वटा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बहिरङ्ग सेवा उपलब्ध हुने भएको छ ।

नयाँ व्यवस्था अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ओपीडी टिकट काट्न सकिने छ । बहिरङ्ग सेवा बिहान १० देखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछ । यस निर्णयको कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले १४ वटा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र कटारी अस्पताल उदयपुरलाई पत्राचार गरिसकेका छन् ।

यसअघि सरकारी अस्पतालहरूमा दिउँसो १ बजेसम्म मात्र ओपीडी सेवा उपलब्ध थियो, जसका कारण त्यसपछि आउने बिरामीहरूले निजी अस्पतालमा शुल्क तिरेर उपचार गराउनु पर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले यस्तो समस्याको अन्त्य गर्ने र बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको मन्त्री राईले बताए ।

“प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूको ओपीडी सेवा अब ५ बजेसम्म सञ्चालन हुनेछ । कोही पनि अस्पताल आएका बिरामी स्वास्थ्य उपचारबाट वञ्चित हुने छैनन्,” मन्त्री राईले भने । मन्त्री राईले कोशी प्रदेशका नागरिकहरूलाई सरकारी अस्पतालमा उपलब्ध सेवाहरूको उपयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0