तनहुँस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको छ । उपचार विधि प्रभावकारी भएकाले यसतर्फ बिरामीको आकर्षण बढेको हो ।
एलोप्याथिक औषधि गर्दा पनि रोग निको नभएर सास्ती खेपेका अधिकांश बिरामी यहाँ आउने गरेको चिकित्सालयले जनाएको छ । तनहुँसहित छिमेकी जिल्ला कास्कीको रुपाकोट, लमजुङको मध्यनेपाललगायत स्थानबाट उपचारका लागि यहाँ आउने गरेका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिए ।
उनका अनुसार चिकित्सालयमा दैनिक करिब ७० जना बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसहरूको आकर्षण बढ्न थालेको चापागाईले बताए ।
प्राप्त जानकारीअनुसार यहाँ चालु आर्थिक वर्षको साउनदेखि पुससम्म गरी छ महिनाको अवधिमा १४ हजार पाँच सय ९५ जनाले स्वास्थ्य सेवा लिएका छन् । साउन महिनामा एक हजार नौ सय छ, भदौमा दुई हजार तीन सय ४७, असोजमा दुई हजार तीन सय चौध जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै, कात्तिकमा एक हजार आठ सय ७९, मङसिरमा तीन हजार दुई सय ४२ र पुसमा दुई हजार नौ सय सात जनाले सेवा लिएका छन् । औषधालयबाट उपचार लिनेमा महिलाको सङ्ख्या धेरै रहेको छ । आठ हजार सात सय ८१ महिला र पाँच हजार आठ सय १४ जना पुरुषले उपचार सेवा लिएका वरिष्ठ कविराज निरीक्षक चापागाईले जानकारी दिए ।
विशेष गरी उपचारमा आउने बिरामीमा ग्याष्ट्रिक, प्यारालाइसिस, बाथ, छालासम्बन्धी बिरामीको सङ्ख्या अधिक हुने गरेको वैद्य निरीक्षक सोमकान्त पौडेलले बताए । यहाँबाट बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी तथा शिशु सेवा, क्षारसूत्र विधि, प्रयोगशाला, फिजियोथेरापी र शिरोधारालगायत सेवा प्रवाह भइरहेका उनले जानकारी दिए ।