रौतहटको शिवनगरस्थित स्वास्थ्य केन्द्रमा भइरहेको आँखा शिविरमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ ।
रौतहटको गरुडा नगरपालिका ५ शिवनगरमा निशुल्क आँखा उपचार गराउनेको भीड देखिएको हो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका साथै नेपाली सेनको वीरदल गण र गरुडा नगरपालिकाको सहकार्यमा भइरहेको आँखा उपचार शिविरमा आइतवारदेखि मोतियान्दिुको निशुल्क अपरेसन पनि सुरु भएको छ ।
गरुडा नगरपालिकाको तर्फबाट मोतियाबिन्दुको उपचार गराउनुपर्ने बिरामीहरुको लागि खाने तथा बस्ने लगायतको सुविधा उपलब्ध गराएको छ ।नगरप्रमुख कन्थमनि प्रसाद कल्वार र नेपाली सेनाका सेनानी पृतना प्रमुख सुदर्शन सिलवालले एक समारोहबिच शिविरको संयुक्त उद्घाटन गरे। उद्घाटन गर्दै नगरप्रमुख कल्वारले गरुडासित रौतहटका पाँच ओटा पालिकाका बिरामीहरुलाई गरुडामा सेवा दिन पाउँदा खुसी लागेको बताए ।
आगामी दिनमा आँखा उपचारको क्षेत्रमा नगरपालिकाले थप काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।गरुडा, कटहरिया, फतुवा विजयपुरसहित विभिन्न पालिकामा नेपाली सेना र तिलगंगा आँखा प्रतिष्ठानले निशुल्क आँखा शिविर सम्पन्न गरिसकेको छ । आँखा शिविरमा धेरै मानिसहरुको सहभागितार रहेको देखिएको थियो ।
आँखाको निःशुल्क परीक्षण, आवश्यकताअनुसार चस्मा वितरण तथा मोतियाबिन्दुको निशुल्क अपरेसन गरिने भएपछि सर्वसाधारणको भीड निकै देखिएको थियो । नेपाली सेनाको सहभागिताले आँखा शिविर निकै व्यवस्थित देखिएको छ । अत्यधिक भीडलाई पनि नेपाली सेनाले सुव्यवस्थित बनाउन सफल भएको शिविरमा सहभागीहरुले प्रतिक्रिया दिए ।
मोतियाबिन्दुका पाँच सय बिरामीको आँखाको अपरेसन गरिने कार्यक्रम रहेको जनाइएको छ ।