काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय मधुमेह (डायबिटिज)  सम्मेलन हुने भएको छ। फागुन १७ गते ( मार्च १) का दिन धन योगा फाउन्डेसन अमेरिकाले डायबिटिज एन्ड इन्डोक्राइनोलोजी सोसाइटीसँगको सहकार्यमा काठमाडौंमा सम्मेलन गर्न लागेको हो।
सम्मेलनका साइन्टिफिक कमीटी चेयर डा प्रज्वल प्याकुरेलका अनुसार दक्षिण एशियामा बढ्दो मधुमेहको समस्यालाई मध्येनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको छ । सम्मलेनमा विज्ञ प्रध्यापक विभिन्न देशबाट आउँने छन् ।

काठमाडौंको रोयल टुलिप द मेसीफ होटलमा हुने एक दिने सम्मेलनमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने उनले जानकारी दिए। सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।

कार्यक्रममा संयोजक कमल विश्वकर्माका अनुसार भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा राजु पन्त, अमेरिकाबाटै डा अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा राल्फ डेफरेन्जो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा रोबिन मास्के, भारतका डा निहाल थोमस, विश्वा स्वास्थ्य संगठनबाट डा ग्याम्पो दोर्जी, नेपाल एनसीडी अलायन्सका डा प्रज्वल प्याकुरेल र नेपाल विकास समाजका डा श्वेता कोइराला सहभागी हुन पक्का भइसकेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेह अनुसन्धानमा काम गरिरहेको संस्थाले सबै प्रदेशमा मधुमेह अनुसन्धान केन्द्र स्थापना गर्ने प्रक्रियामा रहेको जनाएको छ।

सम्मेलनमा २ सयभन्दा बढी सहभागी हुने आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0