जिल्लामा एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनःबढ्न थालेको छ । छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाभित्रबाट पनि केही गाँजा कारोबारकर्ताले बाहिर गाँजा बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए । उनका अनुसार गत साउनदेखि फागुनको दोस्रो सातासम्ममा मात्र जिल्लामा ९० जना लागुऔषध कारोबारकर्ता र केही प्रयोगकर्ता पक्राउ परेका छन् ।
पक्राउ गरिएकामध्ये ४७ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जनाउँदै प्रनाउ दोङले २५ जनालाई कारागारमा राखिएको उल्लेख गरे। उनका अनुसार ३२ जनालाई धरौटीमा छाडिएको छ ।
अहिले सबैभन्दा बढी समस्याका रूपमा सप्तरी, सुनसरी र सिरहको सीमानाकाबाट लागुऔषधका विभिन्न ट्याब्लेटहरू कारोबारकर्ताले उदयपुर भित्र्याउने गरेका प्रनाउ दोङले बताए । जिल्लाको पूर्वी क्षेत्रको बेलका र पश्चिमी क्षेत्रको कटारी, उदयपुरगढी क्षेत्र भएर सप्तरी, सिरहामा गाँजा तस्कर हुने गरेको उनको भनाइ छ ।
जिल्लाको पूर्वी क्षेत्रको बेलका र चौदण्डीगढी नगरपालिकामा सप्तरी र सुनसरीको सिमाना हुँदै जिल्लाभित्र गाँजा तस्करी बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको सिमा क्षेत्रमा प्रहरी तथा सुरक्षाकर्मी चौबीसैँ घण्टा कडाइका साथ तैनाथ गरिए पनि लागुऔषध कारोबार बढ्दै गइरहेकाले प्रहरीलाई चुनौती थपिएको उनले बताए ।
एक वर्षअघिसम्म जिल्ला प्रहरी कार्यालयले जिल्लाका गाउँगाउँका विद्यालय तथा बस्ती र सडकमा ‘नो ड्रग्स’ अभियान सञ्चालन गर्दै आएको थियो । उक्त अभियानका कारण केही समय लागुऔषध दुव्र्यसनी न्यूनीकरण भएकामा अहिले फेरि कारोबार र दुव्र्यसन वृद्धि हुँदै गएका प्रनाउ दोङले उल्लेख गरे।
अहिले जिल्लाभित्रबाट बाहिर गाँजा पैठारी नियन्त्रण गर्नु निकै चुनौतीका रूपमा देखिएको बताउँदै बाहिरबाट लागुऔषध भित्रीक्रम पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीले बताए । कारोबारकर्ताले राजमार्गभन्दा पनि चुरे क्षेत्रको जङ्गलको बाटोबाट पैदल हिडेर चोरबाटो हुँदै कारोबार गर्न थालेपछि प्रहरीलाई सुरक्षा र नियन्त्रणमा चुनौती उनको भनाइ छ ।
लागुऔषध कारोबार बढ्दै जान थालेपछि प्रहरीले नागरिकसहित सबैले साथ दिएमा लागुऔषध ओसारपसार र दुव्र्यसनी न्यूनीकरण गर्न सकिने बताउँदै योगीले नागरिक समाज, आमनागरिकलाई सहयोगका लागि आग्रह गरे ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1