दाङको लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । दैनिक इएनटी विशेषज्ञ सेवा दिइरहेको लमही आँखा अस्पतालले अब इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।
लमही अस्पतालमा इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएसँगै नागरिकलाई सेवा लिन सहज भएको छ । इएनटी इन्डोस्कोपी सेवासँगै अब नाकको समस्या वा साइनस, गलाको समस्या, खानेकुरा निल्न समस्या भए, नाकमा मासु पलाएको, घाँटीमा अड्किएको गिर्खा, स्वरयन्त्रमा समस्या भएको, क्यान्सर, घाँटीमा अड्किएको हड्डी, स्वरयन्त्रमा टिभी रोग, नाक, कान, घाँटीसम्बन्धी समस्या भएका बिरामीलाई सेवा लिन सहजता भएको लमही आँखा अस्पतालका डा बसन्त पन्तले जानकारी दिएका छन ।
डा पन्तका अनुसार ब्रोन्कोस्कोपी सेवाअन्तर्गत शङ्कास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, फोक्सोमा केही चिज अड्केको, मुखबाट रगत बग्ने, दीर्घ खोकी लगायतको समयमै उपचार गरिनेछ । नाक, कान र घाँटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै अस्पतालले सेवा सुरु गरेको भन्दै डा पन्तले भन्ने, ‘अब नाक, घाँटीको भित्री अङ्गमा केही समस्या छ भने अब सहजै पत्ता लगाई थप उपचारमा सहयोग पुग्नेछ ।’
नेपाल नेत्रज्योति सङ्घले आँखासँगै नाक, कान, घाँटीको प्राथमिक सेवाका साथै अस्पताल सञ्चालन गर्ने तयारी गरेको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले बताउनुभयो । उनका अनुसार लमही अस्पतालबाट एक वर्षमा १३ हजार बढीले इएनटी सेवा लिने गरेका छन् ।