उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रबार राति ११ बजे अस्पताल पुगेर मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।
गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादव अहिलेसम्म बेहोस छन् । शुक्रबार उक्त समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री सिंह साँझ नै हस्पिटलमा पुगेका थिए । तर, त्यहाँ सञ्चालक नहुँदा फर्केर गएका उनी पुनस् राति ११ बजे पुगेर दर्ताका कागजातहरू देखाउन भनेका थिए ।
मुख्यमन्त्री सिंहले शल्यक्रिया पश्चात् गम्भीर अवस्थामा पुगेका बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिए।
मुख्यमन्त्रीले सञ्चालकलाई भने, ‘यहाँ रहेका बिरामीहरुलाई अन्यत्र हस्पिटलमा वयवस्थापन गर्नु, ११ बजेसम्म अस्पतालमा ताला लगाएर साँचो सरकारलाई बुझाउनू र गम्भीर अवस्थामा पुगेको बिरामीलाई राम्रो स्थानमा लगेर उपचार गराउनू ।’