बाजुरा । बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस अनिवार्य गरिएको छ । साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराका अनुसार नुन धेरै मात्रामा खपत हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको मातहतमा सर्वपक्षीय बैठक बसेर २०८१ मङ्सिरदेखि नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको हो ।
बाजुराको जनसङ्ख्या एक लाख ३८ हजार ५९८ रहेको छ । सरकारले प्रत्येक नागरिकलाई वर्षमा चार केजी सहुलियतको नुन वितरण गर्नका लागि बाजुरा पठाउँछ । बाजुराको मार्तडी, कोल्टी, मौरै, कवाडी नुन डिपो र डोगडी, गौमुल, धुलाचौर र बेर्मा अस्थायी वितरण केन्द्रबाट सहुलियतको नुन वितरण भइरहेको छ ।
सरकारद्वारा घोषित दुर्गम तथा पिछडिएका जिल्ला बाजुरा, अछाम, बझाङ, हुम्ला, मुगु, कालीकोट, डोल्पा, जुम्ला र जाजरकोटमा सहुलियतमा प्रतिकेजी नौ रुपियाँका दरले नुन बिक्री हुने गरेको छ ।
यता, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अर्को अध्ययनमा नेपालीले खाने गरेको नुनको मात्रा डब्लुएचओले सिफारिस गरेभन्दा बढी रहेको देखाएको थियो।
विश्व स्वास्थ्य सङ्गठन लगायत युनिसेफसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले सन् २०१६ मा नेपालीहरूले खाने गरेको नुनमा आयोडिनको मात्रा कति छ भनेर ‘नेपाल न्याश्नल माइक्रोन्युट्रियन्ट स्ट्याटस सर्भे’ गरेको थियो।
उक्त सर्वेक्षणका लागि लिइएका नमुनाहरूमध्ये ६८ प्रतिशत नुनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी रहेको पाइएको थियो।
६८ प्रतिशत नमुनामा आयोडिनको लेबल ४० पीपीएम (पार्ट्स् पर मिलियन) प्रति किलोग्रामभन्दा बढी नुन पाइएको थियो।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सिफारिस गरे अनुसार प्रतिव्यक्ति ५ ग्राम (लगभग दुई ग्राम सोडियम) भन्दा कम नुन सेवन गर्न सिफारिस गरेको छ।