सुर्खेतस्थित प्रदेश अस्पतालमा तीन वर्षको अवधिमा छ जनामा सफल रूपले मिर्गौला प्रत्यारोपण गरिएको छ । २०७९ माघ २१ गते पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको र सोमबार दुई जनाको पनि प्रत्यारोपण गरिएपछि छ जना पुगेको हो ।
प्रदेश अस्पतालले २०७८ चैत १० गते सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग मिर्गौला प्रत्यारोपणको सम्झौता गरेको थियो । प्रदेश अस्पतालका निर्देशक डा केशर ढकालले मिर्गौला प्रत्यारोपण सुरु गरिएको तीन वर्षको अवधिमा प्रदेश अस्पतालमा छ जनाको सफल प्रत्यारोपण भएको जानकारी दिए ।
सोमबार सिराहा र कालीकोटका युवकको मिर्गौला प्रत्यारोपण गरिएको छ । सिराहाका युवकलाई आमाले र कालीकोटका युवकलाई बाबुले मिर्गौला दिएको निर्देशक डा ढकालले बताए । उनले अब प्रदेश अस्पतालमा नियमित रूपमा मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिए ।प्रदेशवासीलाई स्वास्थ्य उपचार सेवालाई छिटोछरितो र गुणस्तरीय बनाउने काम सुरु भइरहेको जानकारी दिँदै उनले त्यसका लागि अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय टिम दिनरात खटिएको बताए ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विगत तीन वर्षदेखि प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल हुँदै गएको बताए। उनले अहिलेसम्म यहाँ छ वटा मिर्गौला प्रत्यारोपण गरिएको र ती सबै सफल भएको दाबी गरे ।
नेपालका सामुदायिक अस्पतालमध्ये प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेकोमा अन्य अस्पतालका लागि नमुनायोग्य उल्लेख गरे। प्रदेश अस्पतालका एक चिकित्सकलाई मिर्गौला प्रत्यारोपणका लागि ‘फेलोसिप’ दिइएको र अर्को एक जनशक्ति व्यवस्थापन गर्ने तयारी भइरहेकाले एक वर्षभित्रै यहीँबाट मिर्गौला प्रत्यारोपण गरिने उनको भनाइ छ ।