काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्यान्सर निवारण गर्न सचेतना र रोकथामको पाटोमा बढी जोड दिनुपर्ने बताए । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले आयोजना गरेको विश्व क्यान्सर दिवस, २०२५ को अवसरमा ‘पृथकतामा एकता क्यान्सर भोगाइका कथाहरू’ भन्ने मूल नाराका साथ आज आयोजित अन्तरक्रियामा उहाँले क्यान्सर नै लाग्न नदिने बाटोमा अघि बढ्नुपर्ने बताए।

सचिव पोखरेलले भने, “निरोधात्मक पक्षमा बढी ध्यान दिनुपर्ने आवश्यकता छ । पहिचानपछि उपचार गर्ने राज्यको दायित्व त छ तर क्यान्सर लाग्नै नदिन काम गर्नुपर्ने देखिन्छ । क्यान्सर उपचारमा रिफरल मेकानिजमलाई व्यवहारिक र परिस्कृत बनाउनुपर्नेछ ।” उनले सचेतनाको पाटोमा तल्लो तहमा काम गर्ने र रिफरल मेकानिजमलाई राम्रो गरेर केन्द्रकृतभन्दा पनि प्रदेश स्तरसम्म लाने र आवश्यकताअनुसार केन्द्रमा ल्याउँदा क्यान्सर उपचारमा सहजता आउने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले क्यान्सरको प्रारम्भिक पहिचान र रोकथाममै बढी जोड दिनुपर्ने बताए । उनले भने, “प्रारम्भिक पहिचान गर्नसके पछि जटिलता थपिँदैन । सचेतना अभियान पनि सञ्चालन गर्नुपर्नेछ । रोग लाग्न नदिनमा बढी प्रयास गर्नुपर्ने देखिन्छ । रोकथाममा नै बढी जोड दिनुपर्ने देखिन्छ ।”

प्रा डा क्यान्सर रोग विशेषज्ञ डा विवेक आचार्यले क्यान्सर सबैको चासो र सचेतनाको विषय बन्नुपर्ने बताउँदै जबसम्म क्यान्सरको उपचार समयमा हुँदैन तबसम्म यो प्राणघातक रोग नै मानिने बताए । उनले भने, “प्रारम्भिक चरणमै रोग पत्ता लगाउन र उपचार गर्न सकियो निको पार्न सकिने रोग हो । नेपालमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सो क्यान्सर बढी देखिएका छन् । पेटसम्बन्धी क्यान्सर बढिरहेको छ । आयातित तथा प्रशोधित खानेकुराले यस्तो क्यान्सरलाई बढावा दिइरहेका छन् । साथै धूमपान पनि यसको प्रमुख कारक हो ।”

नेपाल चिकित्सक सङ्घका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा अनिल कार्कीले अझै पनि सचेतना पुग्न नसकेको बताए। उनले बिरामी तेस्रोदेखि चौथो स्टेजसम्म आइरहेको र ढिलो आउँदा उपचार पनि जटिल हुने बताउनुभयो । सुरूआती चरणमा आए निको हुने सम्भावना अधिक हुने उनको भनाइ छ ।–––

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0