काठमाडौं । सानो प्वाल पारेर मिर्गौलाको पत्थरीलगायतको शल्यक्रिया गर्ने पद्धति मिनी परक्युटेनियस नेफ्रोलिथोटोमी (पीसीएनएल) प्रविधी भित्रिएको नेपालमा २० वर्ष भएको छ ।
२० वर्षअघि चिनियाँ प्रा.डा. जुवा ज्यीङ्गले धुलिखेल अस्पतालबाट सुरु गरेको सो प्रविधीबाट नेपालमा हजारौंले उपचार पाइसकेका छन् ।
‘धुलिखेल अस्पतालमा सन् २००४ मा हामीले तीन दिनमा ३२ जनाको शल्यक्रिया गरेका थियौं,’ डा. ज्यीङ्गले, ‘यो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाइँ कम हुनुको साथै धेरै गाह्रो नपर्ने हुनाले चाँडै काममा फर्कन्छन् ।’
उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी मानिसलाई पीसीएनएल प्रविधीबाट सेवा प्रदान गरेको जानकारी दिए ।
यसैगरी, २० वर्षअघिदेखि नै नेपाल आएर क्यान्सरको शल्यक्रिया गरेका प्रा.डा.चि फन्जिनाले प्रविधीको विकासले शल्यक्रिया क्षेत्रमा सहज भएको बताउँछन् ।
डा.संजय खड्गीले यो प्रविधि सिकाउने आफनो गुरुलाई २० वर्ष पुगेको अवसर पारेर नेपालमा निम्तो दिएको बताए ।
उनले भने, ‘उहाँकै कारणले आज मँ यो प्रविधिमा अन्तराष्ट्रिय स्तरमै चिनिन सफल भएको छु । यसको श्रेय मेरो गुरुलाई जान्छ । यो खुशी सँगै मनाउँ भनेर उहाँलाई नेपाल बोलाएँ ।’ खड्गी इन्स्टिच्युट कुपण्डोलले प्रोफेसरद्वयको सम्मानसँगै खुसीयालीमा केट काटे ।
डा.संजयले यो २० वर्षमा १५ हजार भन्दा बढी शल्यक्रिया गरिसकेका छन्। उनले खड्गी इन्स्टिच्युटमा मिनी पीसीएनएल प्रविधिबाट नियमित रुपमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्दै आएका छन्। तीन वर्षको अवधिमा एक हजार ६०० बढीको शल्यक्रिया भएको र १५० बढी गरिब तथा विपन्नको गरिएको डा.संजय बताउँछन् ।