काठमाडौं । आँखा विशेषज्ञता अन्तर्गतको भिट्रियो रेटिना अर्थात आँखाको पर्दाको उपचारमा संलग्न चिकित्सकहरुको संस्था नेपाल भिट्रियो रेटिना सोसाइटीको सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।

सोसाइटीले आयोजना गरेको आठौं सम्मेलनमा देश र विदेशका गरि १ सय ३५ जना विशेषज्ञहरु सहभागी भएको सोसाइटीका महासचिव डा. प्रताप कार्कीले जानकारी दिए ।

डा.कार्कीका अनुसार सम्मेलनमा आँखाको पर्दामा हुने समस्या र त्यसको उपचारमा अपनाइएका नयाँ नयाँ प्रविधि र पद्धतिका बारेमा दुई दिनसम्म छलफल भएको छ । छलफलका लागि विदेशबाट २१ जना विशेषज्ञ नेपाल आएका थिए भने देशभित्रका ४० जनाभन्दा बढि विशेषज्ञले विभिन्न कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलनका क्रममा नेपाल बाहेक भारत, बंगलादेश, फिलिपिन्स, ताइवान, सिंगापुर, बेलायत लगायत विभिन्न देशका भिट्रियो रेटिना विशेषज्ञहरु सहभागी भए । उनीहरुले भिट्रियो रेटिनाको उपचारमा अपनाइरहेका विधिहरुका बारेमा नेपाली चिकित्सकसँग अनुभव साँटासाट गरे भने नेपाली चिकित्सकहरुले पनि विभिन्न कार्यपत्र र अनुभव साटासाट गरेका छन् ।

नेपालमा पहिले आँखाका समस्या भन्ने बित्तिकै पहिले मोतिबिन्दु र जलबिन्दुमात्र भन्ने गरिएपनि पछिल्लो समय आँखाको पर्दामा हुने समस्याहरु पनि उल्लेख्य रुपमा बढेका बेलामा यस्ता वैज्ञानिक छलफल यसको उपचारमा संलग्न चिकित्सकहरुलाई सिकाइको अवसर भएको सोसाइटीका अध्यक्ष डा.सन्यम वजिमयले बताए ।

नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः डा. वजिमय
सम्मेलनका क्रममा नेपाल भिट्रियो रेटिना सोसाइटीको वार्षिक साधारण सभा सम्पन्न भएको छ भने आगामी दुईवर्षका लागि कार्यसमिति पनि चयन भएको छ । नयाँ कार्यसमितिमा केही व्यक्ति दोहोरिएका छन् भने केही नयाँको आगमन भएको छ ।
सोसाइटीको अध्यक्षमा डा। सन्यम वजिमय पुनः सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा, डा.रवा थापा, डा. संजिता शर्मा कोषाध्यक्षमा र सहकोषाध्यक्षमा डा.गुञ्जन प्रसाईं चयन भएका छन्  ।

त्यस्तै महासचिवका लागि अर्को कार्यकालमा पुनः डा. प्रताप कार्की र सहसचिवमा डा. ललित अग्रवाल निर्वाचित हुँदा सदस्यहरुमा क्रमशः डा. लिली राजवंशी, डा. पुरुषोत्तम जोशी, डा. किरण शाक्य, डा. नितीन कुशियार र डा। सुवास पोखरेल निर्वाचित भएका छन् । समितिको कार्यकाल दुई वर्षको रहने छ ।

सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामुहिक हितका लागि पेशागत र नीतिगत पैरवी गर्छ भने यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

आँखा विशेषज्ञहरुको छाता संस्था नेपाल अप्थाल्मिक सोसाइटी अन्तर्गत नेपाल भिट्रियो रेटिना सोआँखाका विभिन्न सात वटा सुपरस्पेश्यालिटी समाजहरु रहेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0