काठमाडौं ।  सरकारले माघ २२ गतेबाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सुरु गर्ने भएको छ।

१० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई दिइने ह्युमेन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप एक डोज मात्र दिइने छ ।

मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, परिवार कल्याण महाशाखा र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त रुपमा आयोजना गरिएको पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रममा देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको  जानकारी दिइएको हो।

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई लगाउने बताए । उनका अनुसार यो खोप ह्युमन प्यापिलोमा भाइरबाट हुने पाठघेरको मुखको क्यान्सरबाट सुरक्षित गर्छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले डब्लुएचओ सेजको सिफारिस अनुसार हामिले एक मात्रा मात्र दिन लागिएको जानकारी दिए ।

विषयविज्ञ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले भनिन् खोप लगाएपछि जो एन्टीबडी बन्नु पर्ने हो। त्यो एक डोज लगाए पनि दुई डोज लगाए पनि फरक नपर्ने दखियो।

घिमिरेका अनुसार पाठेघरमा भएका कोशिकाको अनियन्त्रित विकासले गर्दा क्यान्सर हुने गर्छ। यो एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छ।

सूर्तीजन्य वस्तु, खानपान, अत्याधिक चिल्लो खाना, नुन बढी भएको खाना, धुवाँमा सेकाएको मासु, ढुसी परेको खानेकुरा ,बासी खानेकुरा, वंशाणुगत कारण विकीरण जीवाणुका कारणले गर्दा क्यान्सर हुन्छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले अभियानलाई सफल बनाउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने बताए । उनले सहि सूचना र अभियानलाई प्रोत्साहित गर्ने सामग्री प्रस्तुत गर्न सञ्चारकर्मीसंग आग्रह गरे।

विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) का अनुसार हाल विश्वका ६१ वटा देशहरु एचपीभीको एक डोज खोप लगाउने नीतिमा अघि सारेको छ ।
विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ।

गत वर्षको एचपीभी खोप ‘डेमोस्ट्रेसन’मा करीब १० हजार किशोरीहरुलाई एचपीभी खोप दिइएको थियो । तर त्यसबेला उनीहरुलाई दुई डोज खोप दिइएको थियो ।

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल र स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारिताको महत्व र अभियानका बेलामा स्वास्थ्य पत्रकारहरुको भूमिकाबारे धारणा राखेका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0