ललितपुर । विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्ठ स्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । विरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो ।
यूरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा.बाबुराम पोखरेलले नेपालमा स्ट्रोकका विरामीहरुका लागि यसरी विशेष स्ट्रोक युनिट सञ्चालनमा ल्याउनु भनेको एकदमै राम्रो कदम रहेको बताए । उनले अन्य विरामीहरु माझ स्ट्रोकका विरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने सम्भावना धेरै र पुर्नस्थापना पनि छिटो हुने बताए ।
“स्ट्रोक युनिटमा रहँदा विरामीलाई आपतकालीन उपचार, होमियोस्टेसिसको सामान्यीकरण, जटिलताहरुको रोकथाम, पुर्नस्थापना देखि विभिन्न विभागहरुबाट पनि हेरचाह गर्ने प्रबन्ध मिलाइएको हुन्छ, जसले गर्दा मृत्यु र अशक्तताको जोखिमलाई कम गर्दछ ।”
डा. पोखरेलले यो युनिटको आवश्यकता पर्नुको अर्को मुख्य कारण भनेको बढ्दै गएको स्ट्रोेकको विरामीको संख्या रहेको बताए ।
हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक ४ जनामा एक जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ ।
“धेरै जसो विरामीहरु ढिला अस्पताल आइपुग्ने गरेका छन् । स्ट्रोकको लक्षण देखिन थालेको ३ देखि ४ घण्टाभित्र अस्पताल आइपुगी उपचार गर्न सके विरामीमा कुनै किसिमका अपाङगता हुने सम्भावना कम रहन्छ । त्यतिबेलासम्ममा ब्रेन ड्यामेज रिभर्स गर्न सकिन्छ, तर ढिला भएमा मानिसको ज्यान देखि जिन्दगीभर अशक्त भई बस्नुपर्ने अवस्था आउन सक्छ,” डा. पोखरेलले भने । नेपाल मेडिसिटी अस्पतालमा दैनिक ४ जना विरामीहरु स्ट्रोकका कारण भर्ना हुने गरेका छन् ।
अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख डा. गोपाल रमन शर्माका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । स्ट्रोक हुँदा हरेक एक मिनेटमा लाखौं नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ, उनले भने ।
स्ट्रोकको उपचार एक जना चिकित्सकबाट मात्रै सम्भव नभएको डा. शर्मा बताउँछन् । “यसको लागि इस्केमिक स्ट्रोकमै विशेषज्ञता गरेका इन्र्टरभेन्सन न्यूरोसर्जन, न्यूरोलोजिस्ट, न्यूरोसर्जन, प्यारामेडिक्स्, क्रिटिकल केयरका क्लिनिसियन, एनेस्थेटिस, रेडियोलोजिस्ट र फिजियोथेरापिस्टहरुको संलग्नता रहन्छ । यही कुरालाई ध्यानमा राखी मेडिसिटी अस्पतालले स्ट्रोक युनिट सञ्चालनमा ल्याएको हो । यो सेवाबाट नेपाल भरिका सम्पूर्ण स्ट्रोकबाट पिडित विरामीहरुले अन्र्तराष्ट्रिय स्तरको उपचारको सेवा पाउने छन् ।”
विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका विरामी बढ्दै गएको र यसको अपतकालीन समयबारे मानिसहरुमा कम जनचेतना रहेका कारण उक्त युनिट सञ्चालनमा ल्याइएको बताए । “हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरुको प्रचारका लागि नभई मानिसहरुमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका विरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरेका हौं ।”
स्ट्रोक युनिटलाई पूर्ण रुपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरद्धारा उद्धार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्राकको विरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पु¥याउनुपर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टीम पनि उपचारका लागि साथ रहन्छ ।एक अध्ययनका अनुसार हरेक वर्र्ष नेपालमा ३३००० मानिसहरुलाई स्ट्रोक हुने गरेको छ ।