काठमाडौँ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन नेपाल हेल्थ फ्याक्ट सिट्स २०२४ ले खोप कार्यक्रममा सन्तोषजनक प्रगति देखाएको छ । अघिल्लो वर्षको तुलनामा पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्यामा १२ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा पूर्ण मात्रामा खोप पाएका बालबालिका ८४ प्रतिशत रहेकामा आव २०८०/८१ मा सो सङ्ख्या ९६ प्रतिशत रहेको छ । त्यसैगरी दादुरा रुबेलाको कभरेज आव २०७९/८० मा ९५ प्रतिशत रहेकामा आव २०८०/८१ मा एक सय एक प्रतिशत रहेको छ ।
फाइभ इन वान (पेन्टाभ्यालेन्ट भ्याक्सिन) डिप्थेरिया, टिटानस, हुपिङ कफ, पोलियो र हेमोफिलस इनफ्लुएन्जा रोगविरुद्ध लगाइने खोपको दायरामा भने कमी आएको पाइएको छ । सो सङ्ख्या आव २०७९/८० मा ९९ प्रतिशत रहेकामा आव २०८०/८१ मा ९६ प्रतिशत रहेको छ । त्यसैगरी बिसिजी खोपको कभरेज आव २०७९/८० मा १०२.२ प्रतिशत रहेकामा आव २०८०/८१ मा सो सङ्ख्या ९५.२ प्रतिशत रहेको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतम यस वर्ष विभिन्न खोप अभियानले पनि खोप कभरेजमा राम्रो नतिजा देखिएको बताए । उनले भने, “केही खोपमा दायरा अझै बढाउनुपर्ने देखिन्छ । यद्यपी यो वर्ष विभिन्न अभियानले पनि खोप कभरेज बढाउन मद्दत ग¥यो । छुटेका बालबालिकालाई खोजेर खोप लगाउने अभियान चलायौँ । खोप कभरेज राम्रो देखिए पनि बालबालिका छुटेका हुन्छन् । घर–घर गएर पनि खोजेर खोप लगाउँछौँ ।”
डा गौतमका अनुसार दादुराको महामारी भएको १० जिल्लामा खोप अभियान, जाजरकोटमा भूकम्प गएपश्चात् दादुरा रुबेला खोप अभियान, दुई जिल्लामा दादुरा रुबेला र सात जिल्लामा टाइफाइड विरुद्धको खोप, ६० लाखभन्दा बढीलाई दादुरा रुबेला खोप, पोलियो खोप र पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानले खोप कभरेजमा वृद्धि गरेको हो ।