काठमाडौं । आज दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस । नेपालमा तत्कालिन मुलुकी ऐन को ११ औं संशोधनबाट गर्भपतनलाई कानुनी अधिकारको रुपमा स्थापना गरेको दिन पनि भनिन्छ।
यहि दिनको सम्झना गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग सहकार्य गर्दै विगत १० बर्ष आजकै दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस देशव्यापी रुपमा मनाउदै आएको छ ।
यो बर्ष “सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता ” भन्ने मूल नाराका साथ दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउँदैछौ ।
नेपालमा प्रति १,००,००० जिवित जन्ममा सन् १९९६ मा ५३९ मातृ मृत्युबाट सन् २०२१ मा १५१ मातृ मृत्यु उच्च दरमा उल्लेख्य सुधार भएको महाशाखाले जनाएको छ । त्यसैगरी असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने जोखिम कम गर्न सकिएको महाशाखाले जनाएको छ ।
आ व.२०८० /८१ मा १,०५,००० जना महिलाहरुले सुचिकृत स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
नेपालको संविधानले प्रजनन् स्वास्थ्य अधिकार सहित गर्भपतनको अधिकारलाई मौलिक हकको रुपमा अंगीकार गरी यसको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरिय, सर्वसुलभ तथा पहुँचयोग्य सेवा बनाउने सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को उद्देश्य रहेको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ र नियमावली २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण र गर्भपतन पश्वात सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ ।
यही उद्देश्य अनुरुपको सेवा उपलब्ध गराउन सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिलाहरुको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिएका छौं र सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौं ।
२०८१ असोज ६ गते सम्ममा यो सेवा प्रदान गर्न १० हप्तासम्मको औषधीको प्रयोग द्वारा गरिने गर्भपतन सेवाका लागि १६८३ स्वास्थ्य संस्था र ४२३५ स्वास्थ्यकर्मीहरुले सेवा दिएका छन् ।
१० हप्ता सम्मको औषधीको प्रयोग र उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ७३० स्वास्थ्य संस्था र १४१९ स्वास्थ्यकर्मीहरु, १२ हप्ता सम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ३५० स्वास्थ्य संस्था र २८६० चिकित्सिक तथा स्वास्थ्यकर्मीहरु र १२ हप्ता भन्दा माथीको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र १८७ जना चिकित्सकहरुलाई सुचिकृत गरिसकेका छौ ।