काठमाडौं । बाल मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । उक्त सम्मेलन स्वस्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा असोज १५ र १६ गरी दुई दिन काठमाडौँमा हुने भएको हो ।
उक्त सम्मेलनका संयोजक तथा वरिष्ठ बाल मानसिक रोग विशेषज्ञ डा।अरुण कुँवरले किशोर किशोरीहरूको मानसिक स्वास्थ्य सुधारमा सरकारी नीति निर्माणमा टेवा पुर्याउने उद्देश्यले सम्मेलन गर्न लागेको जानकारी दिए । उक्त सम्मेलनमा सहभागिताका लागि ११२ विदेशी तथा ५७ जना नेपालीले दर्ता गरिसकेको महाशाखाले जानकारी दिएको छ।
तेस्रो पटक आयोजना हुन लागेको उक्त सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० बढी विज्ञहरू सहभागी हुने आङ्कलन गरिएको छ ।
युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको डा। कुँवरले जानकारी दिए ।
नेपालमा १० देखि १७ वर्षसम्मका बालबालिकामध्ये दुई प्रतिशतमा निराशाको समस्या देखिएको विभिन्न अध्ययनले देखाएको छ।
डा.कुँवरले पछिल्ला दिनहरूमा नेपालमा धेरै डिजिटल उपकरणहरूको प्रयोग गर्ने हुँदा बालबालिका तथा किशोर किशोरीहरूमा डिजिटल अटिजमको समस्या बढ्दो गएको समेत जानकारी दिए ।