घर नजिकै स्वास्थ्यचौकीको भवन निर्माण हुने भएपछि स्थानीय ९१ वर्षीय पदमबहादुर परियार निकै हर्षित थिए। उमेरसँगै रोगले थलिएर विस्तारामा पर्नुभएका उनलाई स्वास्थ्यचौकी भवन निर्माण हुने कुराले रोग निकोे भएको महसुस हुन्थ्यो ।
हिँडेर टाढाको अस्पतालसम्म पुग्न सक्ने अवस्था नभएका उहाँको घरमा  श्रीमती, बुहारी र साना नातिनातिना छन् । रोगले च्यापेको बेला नजिकैको स्वास्थ्यचौकीमै उपचार पाउने उनको आशा अझै पूरा हुन सकेको छैन । यो अवस्था हो जिल्लाको फलेवास नगरपालिका वडा नं ९ भँगरामा निर्माणाधीन स्वास्थ्यचौकी भवनको ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी विसं २०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकीको सुविधा भवन छ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो । “स्वास्थ्यचौकीमा उपचार गराएर केही वर्ष अझै बाँच्छु भन्ने सोच्नुभएका परियारजस्ता थुप्रै नागरिक भवन सम्पन्न नहुँदै जीर्ण र अलपत्र बनेको देखेर निरास हुने गरेका छन् ।
समयमै भवन निर्माण  सम्पन्न नहुँदा स्थानीयवासी स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन् । निर्माण व्यवसायीले काम छोडेरबीचमा भागेपछि भवन अलपत्र परेको हो । रु दुई करोड ४४ लाखमा भवन निर्माणका विसं २०७५ माघमा निर्माण कम्पनी काठमाडौँले जिम्मा लिएको थियो ।
लामो समयसम्म भवनले पूर्णता पाउन नसक्दा निर्माण भएको पूर्वाधार जीर्ण बन्दै गएको छ । दुई तले १२ कोठे भवनमा बिरामीको उपचारका लागि औषधि भण्डारण, बिरामी चाँज कक्ष, गर्भवती जाँच कक्ष कर्मचारी आवास, प्रशासन, बर्थिक सेन्टर लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत निर्माण भएको भवन सम्पन्न गर्नका लागि चार पटक म्याद थप गरिसकिएको छ । ठेकेदारले बीचमै काम छोडेर बेपत्ता भएपछि आयोजनाले पटकपटक म्याद थप गर्दै निर्माण कम्पनीलाई तोकता गदै काममा लगाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत नगरी निर्माण व्यवसायी बेपत्ता भएको हो ।
भवन निर्माण  अन्तिम चरणमा पुगेको भए पनि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडाध्यक्ष हितमान गुरुङले बताए । मौखिकरुपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचनासमेत जीर्ण र पुरानो हुँदै गएको उनको भनाइ छ । “वर्ष दिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ”, उनले भन्ने ।
गाउँमा गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सानोतिनो रोग र चोटपटक लागेमा अन्यत्र जानुपर्ने बाध्यता स्थानीयको छ । “सामान्य समस्या भयो भने कुश्मा वा पोखरा पुग्नुपर्ने बाध्यता छ”, स्थानीय सुमिना गुरुङले भन्ने, “सुविधा सम्पन्न भवन अलपत्र परेर सेवा विस्तारमा सहज नहुँदा यहाँका महिला र ज्येष्ठ नागरिकले बढी सास्ती व्यहोर्नुपरेको छ ।”
साविक गाउँ विकास समितिको पुरानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको स्वास्थ्यचौकी प्रमुख वीरबल विकले बताउछन । बर्सातमा भवन चुहिएर समस्या हुने गरेको उनले बताए । उनले भवन निर्माण भएर सञ्चालनमा आए यहाँ नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए ।
स्थानीयवासी तथा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङले लामो समयदेखि स्वास्थ्यचौकीको भवन अलपत्र परेको देखेर चिन्तित बनेको बताए। सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन बनाउन आफ्नै पहलमा बजेट विनियोजन गर्नेदेखि आफ्नो परिवारले निःशुल्क जग्गा समेत उपलव्ध गराएको जनाउँदै ठेकेदारले काम नगर्दा समस्यामा परेको बताए । भवन तत्काल सम्पन्न गरेर सञ्चालनमा ल्याउन उनले माग गरेका छन ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0