इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

“ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

यसअघि, पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए । इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

स्थानीय अभियोजक अली नेसेईलाई उद्धृत गर्दै इर्नाले भनेको छ, “खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको छ।”“अहिले हाम्रो प्राथमिकता घाइतेलाई सहयोग गर्नु र भग्नावशेषमुनिबाट मानिसहरूलाई निकाल्नु हो,” नेसेईले भन्ने। उनले भन्ने, “सम्बन्धित संस्था वा खानीका अधिकारीको लापरबाही र गल्तीबारे छानविन गरिनेछ ।”

गत वर्ष उत्तरी शहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी छ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो । सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0