वीर अस्पतालमा प्राविधिक समस्या आउँदा ओपीडी टिकट वितरण प्रभावित भएको छ । टिकट लिनका लागि बिहानैदेखि लाइनमा बसे पनि टिकट नपाएको बिरामीहरुले गुनासो गरेका छन् ।
वीर अस्पतालका एक कर्मचारीका अनुसार आज बिहानैदेखि सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या आएको स्वीकार गरे । तर बिरामीहरुलाई यत्तिकै नफर्काएको उनले बताए । ‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उनले भने, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’ डाक्टरहरुले बिरामी जाँच्न समेत सुरु गरिसकेको उनले बताए ।सर्भर मर्मतको काम भइरहेको र चाडै समस्या सावधान हुने बताए ।
‘भर्ना, डिस्चार्ज, प्रयोगशाला, स्वास्थ्य बीमा लगायत सबै सिस्टम अनलाइनबाट चल्ने हुन् । यो नचल्दा समस्या त हुने नै भयो । हाम्रा प्राविधिकहरु लागि रहनु भएको छ । आशा गरौँ छिटै बन्नेछ र नियमित रुपमा सेवा फर्किने छ,’ उनले भने ।
देशकै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो सरकारी अस्पताल वीरमा बिरामीको चाप पनि अधिक हुने गर्दछ । तर सिस्टममा आउने यस्ता समस्याले सेवाग्राहीलाई थप समस्या हुने गरेको छ ।