काठमाडौं । चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आइतबार बस्ने भएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आयोगको बैठक बस्न लागेको हो। पोष्ट ग्राजुएट्स (पीजी) तहको भर्नाका विषयमा यसपटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोग आमने सामने भइरहेको बेला बैठक बस्न लागेको हो । आयोगको पन्ध्रौं बैठकका लागि विभिन्न ९ वटा विषयमा छलफल हुने कार्यसूची रहेको छ।
आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी विषयमा छलफल हुने आयोगका एक कर्मचारीले बताए ।
१५ औँ बैठकका लागि तय गरिएका यी हुन एजेण्डा ?
१. आर्थिक वर्ष २०८०/०८१ मा आयोगद्वारा सम्पादित प्रमुख कार्य र उपलब्धिहरूको समीक्षा,
२. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७४ को दफा ४ को उपदफा (२) बमोजिम आयोगको लोगो स्वीकृति सम्बन्धी,
३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस सम्बन्धी,
४. आर्थिक वर्ष २०८१/०८२ को लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी,
५. चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृति सम्बन्धी,
६. राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३९ को प्रावधान अनुसार चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी,
७. चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था र शैक्षिक कार्यक्रम टुक्रयाई स्वामित्व हस्तान्तरण र स्थानान्तरण सम्बन्धी,
८. चिकित्सा शिक्षातर्फ छात्रवृत्तिमा अध्ययन गरी बीचमै अध्ययन छाडेका विद्यार्थीहरूका सम्बन्धमा,
९. विविध।