विराटनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । करुणा फाउण्डेसनसँगको सहकार्यमा विराटनगर महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ । करुणा फाउण्डेशनले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेशका चार पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ ।
परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाका करिब ४७ हजार महिलाको पाठेघरको परीक्षण गरिने फाउण्डेशनकी कार्यक्रम अधिकृत रविना खड्काले जानकारी दिइन । परीक्षणपश्चात् पाठेघरमा समस्या देखिएका महिलाको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले बताए ।
परियोजना सफल बनाउन महानगरका १९ वटै वडामा १३९ महिला स्वयंसेविका परिचालन गरिनेछ । हरेक स्वयंसेविकाले करिब दुई सय महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउनेछन् । स्वयंसेविकाले घरघरमा पुगेर जनचेतना फैलाउनुका साथै महिलालाई परीक्षण गर्नका लागि प्रोत्साहन गरेर स्वास्थ्य संस्थामा जान आग्रह गर्नेछन् । महानगरका १९ वटै वडामा सञ्चालित स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको परीक्षण गरिनेछ ।
विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा उक्त परियोजना सञ्चालन हुने कार्यक्रम अधिकृत खड्काले जानकारी दिइन । चारवटै पालिकाको नेतृत्वमा करिब एक लाख सात हजार पाँच सय महिलाको परीक्षण गर्ने लक्ष्य छ ।