पश्चिम नेपालको ठुलो अस्पताल भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
चिकित्सकीय भाषामा यसलाई भेन्ट्रिकुलोपरिटोनियल (भिपी) शंट शल्यक्रिया भनिन्छ । सल्यान वागचउर नगरपालिका –७ सानागाराकोटका १५ महिने कृष्ण परियार खेल्ने क्रममा दुई महिनाअघि घरको पेटीबाट लडेर घाइते भएका थिए ।
खाना खाने वित्तिकै वान्ता हुने र आँखा समेत नदेख्ने समस्या भएपछि सल्यानबाट थप उपचारका लागि परियारलाई नेपालगन्ज ल्याइएको थियो । सिटि स्क्यानमा मस्तिष्कमा पानी जमेको पाइएपछि भेरी अस्पतालको न्यूरो विभागको टिमले शल्यक्रियाको निष्कर्ष निकालेको थियो ।
सोही अनुसार कात्तिक –८ गते न्यूरोजर्सन डा। सुवोध गौतम नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो । कतिपयलाई वंशाणुगत रुपमा नै हाइड्रोसेफलसको समस्या देखिन्छ भने कतिपयलाई चोटपटक लाग्दा, तरल पदार्थ बग्ने नलीमा ट्युमर हुँदा पनि हाइड्रोसेफलसको समस्या हुन सक्ने बताउछन न्यूरोसर्जन डा गौतम ।
१५ महिनाको बालकको शल्यक्रिया गरिनु नै जोखिमपूर्ण र जटिल हुने उनको भनाइ छ । हाम्रो टिमले सफलतापूर्वक भेरी अस्पतालमा १५ महिनाको बालकको पहिलो पटक शल्यक्रिया गरेको उनले बताए । भेरी अस्पतालको विशिष्टिकृत सेवालाई भिपी शंट शल्यक्रियाले थप उचाइ दिने काम गरेको छ ।