अर्खाखाँचीका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल दुई वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् । भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र छ । केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पताल पालिकाले न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा सञ्चालन हुन नसकेको हो ।
१५ शय्याको अस्पताल नगरपालिकाको स्रोतले सञ्चालन गर्न नसकिने नगरप्रमुख झविलाल थापाले बताए । उनले भन्ने, “सङ्घीय सरकारको सहयोगमा भवन निर्माण भयो तर स्थानीय तहले थेग्न सक्दैन । विषय विशेषज्ञ डाक्टरसहितका जनशक्ति, तोकिएको प्रयोगशालालगायतका सेवा दिने गरी मापदण्ड छ ।” सञ्चालनको सम्भावना र आवश्यकताको पूर्वयोजना नहुँदा सञ्चालनमा समस्या आएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहमा स्थापना हुने पाँच, १० र १५ शय्याका अस्पतालको संरचना र सेवाको मापदण्ड तोकेको छ ।
१५ शय्याका लागि नवौँ वा १० औँ तहका डाक्टर, चिकित्सकीय सेवा, उपचारात्मक सेवा, निदानात्मक सेवा, अस्पताल व्यवस्थापन (प्रशासन एकाइ), बहिरङ्ग एकाइ, प्रयोगशाला एकाइ ल्याब टेक्निसियन, कविराज आयुर्वेद, रेडियो इमेजिङ एकाइ, आकस्मिक एकाइ, अन्तरङ्ग एकाइ र अस्पताल फार्मेसी हुनुपर्ने मापदण्ड छ । सोही मापदण्ड अनुसार नगरपालिकाले सञ्चालन गर्न नसक्दा अलपत्रमा परेको हो ।
अत्यावश्यक सेवा दिने र जिल्लाकै नमुना आधारभूत अस्पताल सञ्चालन गर्ने योजनासहित अस्पताल निर्माण गरिएको थियो । नगरपालिकामा प्रशासनिक जनशक्ति नै कम छ । प्राविधिक जनशक्तिको व्यवस्थापन थप चुनौती रहेको योजना प्रमुख हरिशचन्द्र भुसालले बताए ।
अस्पतालको भवन आकर्षक र सुविधासम्पन्न छ । तीन वर्षमा भवन निर्माण भएको थियो । हाल पाले राखेर अस्पताल कुर्ने, संरक्षण गर्ने काम भएको छ । अर्घाखाँचीमा चार वटा स्थानीय तह शीतगङ्गा नगरपालिका, मालारानी र छत्रदेव गाउँपालिकामा निर्माण सम्पन्न गरी हस्तान्तरण भएका छन् तर सञ्चालन र व्यवस्थापनको सवालमा भने सबै पालिकाको एकै मत छ, “स्थानीय तहले मात्रै सक्दैन ।”
मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले मापदण्ड अनुसारको सञ्चालन स्थानीय तहले मात्र सक्ने अवस्था नरहेकाले जनशक्तिको व्यवस्थापन प्रदेश र केन्द्रले गर्नुपर्ने बताए ।