काठमाडौं ।  गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेश गरेका हुन् ।

‘विशिष्टीकृत अस्पताल निर्माणमा गण्डकी प्रदेश सरकार र चीन सरकारबीच सहकार्य हुँदाको अवस्थामा दुवै देशका स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञका लागि अध्ययन तथा अनुसन्धानको अवसरसमेत सिर्जना हुन्छ’, उनले भने।

उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलन जस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अस्पतालमा एयर एम्बुलेन्ससहित आपतकालीन उद्धार सेवा उपलब्ध भई दुर्घटना तथा स्वास्थ्य विपद् व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ ।

जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0