काठमाडौं । नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको एक तथ्याङ्क देखाएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ को तथ्याङ्क अनुसार नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ जनाले ज्यान गुमाउँने गरेको देखाएको छ ।
सोही तथ्याकंहले हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ। हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ।
यसैगरी, हरेक वर्ष तीन लाख ११ हजार महिला यसैका कारण मृत्यु हुने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ। भने महिलामा देखिने क्यान्सरमध्ये नेपालमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ।
सरकारको पाठेघरको मुखको क्यान्सर विरुद्ध आगामी माघ २२ गतेदेखि देशैभर ‘एचपीभी खोप’ निःशुल्क दिइने जनाएको छ । पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु रोक्न करिब १७ लाख किशोरीलाई ‘एचपीभी खोप’ निःशुल्क दिइने दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।