धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन् । घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताए ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।
आइ एम टे«किङ एन्ड एक्सपिडिसनमार्फत १४ रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।
यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1