जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार दुई सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत साउनयता ६ हजार तीन सय ४७ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये चितवनका एक हजार ६९२ जना र जिल्ला बाहिरका पाँच सय ५१ जना रहेका छन् । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सात सय ३० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिए।
सबैभन्दा कम माडी नगरपालिकामा १८ जनामा डेङ्गु देखिएको छ । उनका अनुसार इच्छाकामना गाउँपालिकामा चार सय ४७ जना, रत्ननगर नगरपालिकामा तीन सय १९ जना, खैरहनी नगरपालिकामा ८७ जना, कालिका नगरपालिकामा ४८ जना र राप्ती नगरपालिकामा ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । जिल्लामा गत आर्थिक वर्षमा एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । उनका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरि भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने जस्ता लक्षण देखा पर्ने उनले बताए ।
डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए । डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको प्रमुख रुपाखेतीले बताए।