चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो ।
सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाख लागतमा अस्पताल निर्माण पूरा भएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । पन्ध्र कठ्ठा १० धुरमा तीनतले अस्पताल निर्माण गरिएको हो । अस्पताल भवन निर्माणसँगै मङ्सिर २ गतेदेखि चौबीसै घण्टा सेवा प्रवाह गर्नेगरी औपचारिक उद्घाटनको तयारी गरिएको छ ।
यसैबीच अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुली गाउँपालिकाले ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’ आयोजना गरेको छ । अस्पताल परिसरमा आयोजना गरएको महापुराण आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुने पुराण व्यवस्थापन समिति संयोजक जनक कोइरालाले जानकारी दिए। महापुराणमा मुख्यगरी हिन्दू, बौद्ध र किराँत धर्मका धर्मगुरुले कथावाचन एवं प्रवचन दिने उनले बताए ।
गाउँपालिकामा पहिलोपटक १५ शय्याको अस्पताल निर्माण गरिए पनि सञ्चालनका लागि आर्थिक समस्या भएकाले आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहितको समावेशी महापुरण आयोजना गरिएको गाउँपालिका अध्यक्ष केरुङले बताए । “अस्पतालको भवन निर्माण भइसकेको छ, तर उपकरण खरिद र जनशक्ति व्यवस्थापनमा आर्थिक समस्याका कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन”, अध्यक्ष केरुङले भन्ने, “अस्पताल सञ्चालन गर्न सहयोग जुटाउने उद्देश्यका साथ महापुराण आयोजना गरिएको छ ।” महापुराणबाट सङ्कलित रकमबाट अस्पताल सञ्चालनका लागि छुट्टै दिगो अक्षयकोष स्थापना गरिने उनले बताए ।
विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरूको समिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागि महापुराणले योगदान पुर्याउने गाउँपालिको अपेक्षा रहेको अध्यक्ष केरुङको भनाइ छ ।