भारतका प्रशिद्ध उद्योगपति रतन टाटाको बुधबार राति निधन भएको छ। उनको गएराति मुम्बईस्थित एक अस्पतालमा निधन भएको टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले विज्ञप्तिमार्फत् बताएका हुन्।
उनी लामो समयदेखि अल्जाइमर्सको समस्या बेहोर्दै आएका थिए। २८ डिसेम्बर १९३७ मा जन्मिएका टाटाको ८६ वर्षको उमेरमा निधन भएको हो। २८ डिसेम्बर १९३७ मा जन्मेका रतन टाटा समूहका संस्थापक जमशेदजी टाटाका नाति हुन्। उनी सन् १९९० देखि २०१२ सम्म टाटा समूहको अध्यक्ष र अक्टोबर २०१६ देखि फेब्रुअरी २०१७ सम्म अन्तरिम अध्यक्ष थिए। मृत्यु हुनु अघि सम्म रतन टाटा समूहको च्यारिटेबल ट्रस्टका प्रमुख थिए।
टाटा समूह भारतको सबैभन्दा ठूलो गाडी निर्माण तथा सबैभन्दा ठूलो निजी स्टील कम्पनी हो । टाटा अन्तर्गतका कम्पनीहरूले विश्वव्यापी रूपमा ३ लाख ५० हजारभन्दा बढी मानिसहरूलाई रोजगारी दिन्छ । जुन २००८ मा टाटाले २.३ अर्ब डलरमा फोर्डबाट ज्यागुआर र ल्यान्डरोभर किनेको थियो।
टाटाले १९३२ मा भारतमा व्यावसायिक उडान सुरु गरेको थियो । पछि एयर इन्डियाका रूपमा सञ्चालित कम्पनीलाई सरकारले नियन्त्रणमा लियो ।
तर टाटा समूहले २०२१ मा सरकारी स्वामित्वको एयर इन्डिया किन्यो । कम्पनीले सिंगापुर एयरलाइन्ससँग सुरु गरेको पूर्ण-सेवा वाहक, विस्तारालाई हालै एयर इन्डियासँग गाभेको थियो ।
टाटा कम्पनीहरूमा टाटा स्टील, टाटा मोटर्स, टाटा पावर र सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिस समावेश छन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले उनको निधनमा शोक व्यक्त गरेका छन्।
राष्ट्रपति मुर्मुले टाटाको निधनबाट भारतले देशको निर्माणको आइकन गुमाएको बताएकी छन्।
यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई असाधारण व्यक्तित्वको संज्ञा दिएका छन्।रतन टाटाजी दूरदर्शी, दयालु र एक असाधारण मानव थिए। उनले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापार घरानालाई लामो समय नेतृत्व प्रदान गरे,’ मोदीले भनेका छन्।
दिवंगत टाटालाई भारत सरकारले पद्म विभूषणबाट सम्मानित गरेको थियो।