लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसूति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. इन्द्र ढकालले अस्पतालमा आठ शैयाको रिकभरी वार्ड तथा १५ शय्याको पोष्ट अपरेटिभ शय्यासहित नयाँ शल्यक्रिया कक्ष सञ्चालमा आएको बताए ।
उनले अब हप्ताको सात दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउने जानकारी दिए । सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एउटा शल्यक्रिया कक्ष तथा दुईवटा ठूलो शल्यक्रिया कक्ष रहेको अस्पतालका मेसु ढकालले जानकारी दिए ।
मेसु ढकालले छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज हुने बताए । अस्पतालबाट विगत तीन वर्षदेखि वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब प्रसूतिका लागि छुट्टै शल्यक्रिया कक्षा बनेपछि ३३ प्रतिशतले शल्यक्रियाको सेवा वृद्धि हुने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार शल्यक्रिया कक्ष बिस्तारसँगै विगतमा सातामा दुई दिन हुने हाडजोर्नीसम्बन्धी शल्यक्रिया अब सातामा तीन दिन हुनेछ । सोहीअनुसार शल्यक्रियातर्फ नाक, कान, घाँटीसम्बन्धी शल्यक्रियाका लागि पनि सातामा तीन दिन पालो आउनेछ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउन अस्पताललाई थप प्रतिबद्ध बनाउने गरी काम भइरहेको बताए।
सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित स्रोत साधनबाट भए पनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको बताए ।