पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआर कङ्गो) को किवु तालमा बिहीबार मानिस र सामानहरू बोकेको एउटा डुङ्गा पल्टिँदा उद्धारकर्ताहरूले करिब २० शव निकालेको सुरक्षा र बन्दगरगाह स्रोतहरूले बताएका छन् ।
दक्षिणी किवु प्रान्तको मिनोवा सहरबाट आएको डुङ्गा बिहीबार बिहान छिमेकी उत्तरी किवुको राजधानी गोमाको किनारमा आफ्नो गन्तव्यबाट एक सय मिटर टाढा डुबेको थियो ।
गोमाको कितुकु बन्दरगाहमा रहेको एउटा सुरक्षा स्रोतले भनेको छ, “मैले १७ वटा शव देखेँ तर बचेकाहरूलाई पनि धेरै आशाबिना अस्पताल पठाइएको छ ।”
बन्दरगाहका अधिकारीहरूको अर्को स्रोतका अनुसार १८ वटा शव निकालिएको छ र उद्धार कार्य जारी छ । “तिनीहरूलाई विभिन्न शवगृहमा लगिएको छ”, स्रोतले भन्यो ।
अधिकारीहरूले डुङ्गामा रहेका यात्रुहरूको सङ्ख्या खुलाएका छैनन् तर दुई बालबालिकालाई अस्पताल लगिएको भए पनि उपचार गर्नुअघि नै उनीहरूको मृत्यु भएको चिकित्सा स्रोतले बतायो ।
कङ्गोको सरकारी सेना र विद्रोही समूह एम२३ बीच लडाइँ हुने उक्त क्षेत्रमा स्थल यात्रा गर्नबाट बच्न धेरै मानिसले गोमा पुग्न किवु तालको उत्तरी सिरा डुङ्गाबाट पार गर्ने विकल्प रोज्ने गरेका छन् ।
सन् २०२१ को अन्त्यमा आक्रमण सुरु गरेपछि रुवान्डा समिर्थत मुख्यतया तुत्सी मिलिसिया एम२३ ले पूर्वी डिआर कङ्गोको ठूलो भूभाग कब्जा गरेको छ । यो खनिज समृद्ध क्षेत्रमा प्रतिद्वन्द्वी विद्रोही समूहहरूका कारण पछिल्लो तीन दशकदेखि आन्तरिक र सीमापार हिंसाबाट ग्रस्त छ ।
मध्य अफ्रिकी मुलुक डिआर कङ्गोमा ताल र नदीहरूमा घातक डुङ्गा दुर्घटनाहरू सामान्य घटना हुन् । यहाँ सडकहरू खराब अवस्थामा छन् र यात्रुहरूको सूचीको व्यवस्थित अभावले प्राय उद्धार कार्यलाई जटिल बनाउँछ ।