पाटन । गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा हुनुहुन्छ । चर्चामात्र होइन हाल उनीलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

यसैक्रममा आज ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताए । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उनले सुनाए । “ठूलो खोला थियो, काठ तथा अन्य सामान पनि बगाएर ल्याएको थियो, मान्छेलाई खोलाले बगाउँदै नजिकै ल्यायो, मन थाम्न सकिन, श्रीमती र छोरीले नजाऊ बगाउँछ भन्दै थिए तर उनीहरू र आफ्नो प्रवाह नगरी हामफालेर बचाएँ”, चनिकलाले भने ।

उनले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्व थाहा पाएको धारणा राखे । तामाङले आफूले कल्पनामा पनि यस्तो सम्मान पाइएला भन्ने नसोचेको भन्दै महानगरप्रति आभार व्यक्तगरे । “मलाई कुनै सम्मानको आश थिएन तर पनि नगद रु एक लाखसहित तपाईँहरूले गर्नुभएको यो सम्मानप्रति म निकै खुसी छु”, उहाँले भन्नुभयो । ललितपुर महानगरले चनिकलाललाई नगद रु एक लाख र सम्मानपत्र प्रदान गरेको थियो ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गरेर पनि अपूरो हुने भन्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकामा धन्यवाद भन्नुभयो । “बहादुरीपूर्वक जुन काम गर्नुभयो, त्यो ज्यादै प्रशंसायोग्य छ, तपाईँको बहादुरीले दुई जनाको ज्यान बच्यो, यो सम्मानभन्दा पनि ठूला हो । तपाईँले गर्नुभएको काम भविष्यमा पनि सम्झिरहने छौँ”, उनले भने।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0