नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । असोज १ गते अस्पतालले एक औपचारिक कार्यक्रम गरी नवनिर्मित भवनमा रेडिएसन थेरापी सेवा सुरु गरेको हो ।

अस्पतालमा तीन अर्बको लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन निर्माण गरेको छ । नयाँ भवनमा अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएपछि अब दैनिक बहिरङ्ग, ओपीडी सेवा, डे केयर र भर्ना गरी उपचार गरिने अन्तरङ्ग सेवा, केमो थेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सेवाहरू उपलब्ध हुने बताइएको छ ।

अस्पतालले भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापी जडान गरेको हो । ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गो सिम आरटीसीटी मेशिन लगायत अत्याधुनिक उपकरणहरूबाट रेडिएसन थेरापी सुरु भएपछि नोबेलले क्यान्सर सम्बन्धी सम्पूर्ण सेवाहरू उपलव्ध गराउन सक्षम भएको हो ।

रेडिएसन थेरापीका लागि जडान भएको एज नामको उपकरण नेपाल मै पहिलो पटक जडान भएको नोबेलका अन्कोलोजिष्ट डा प्रदीप भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क र एचडीएमआईसी अत्याधुनिक प्रविधि हो । यसमा रहेको एसआरएस र एसबीआरटीले शरीरभित्रको क्यान्सर शल्यक्रियाविना नै निर्मूल गर्ने गर्दछ । त्यस्तै आईजीआरटी आईएमआरटी भीएमएटीले शरीरभित्रको सामान्य र स्वस्थ सेललाई हानी नगरी क्यान्सर सेललाई सेक्ने गर्दछ ।

यसले रेडिएसन थेरापीलाई थप प्रभावकारी र सटिक बनाउने उनले बताए । यससँगै ब्राकीथेरापी पनि जडान भएको छ । यस प्रविधिमा विनादुखाइ औजारको सहायताले शरीरभित्र पुगेर नै क्यान्सरको सेल निर्मूल गर्ने गरिन्छ । क्यान्सर सेवाका लागि नवनिर्मित भवनमा जडान भएको अर्को महत्त्वपूर्ण उपकरण ४ डी आरटीसीटी नामक सिटीस्क्यान मेशिन हो, जसले रेडिएसन थेरापीमा मद्धत गर्दछ ।

संस्थाका अध्यक्ष लोकनाथ न्यौपानेलगायतले पुजाअर्चना गरेर सेवाको शुभारम्भ भएको हो । सो अवसरमा क्यान्सर भवनका विभिन्न कक्षहरूको अवलोकन गराइएको थियो । क्यान्सर उपचारलाई सहज बनाउन नोबेलले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगको उपचार सेवा पनि प्रदान गर्न सुचीकृत भइसकेको छ । यससँगै पूर्वी नेपालका विपन्न क्यान्सर रोगीलाई उपचार सेवा प्राप्त गर्न सहज हुने छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0