एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।नेपालमा पनी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ।
यसैबीच, विश्व एड्स दिवसको अवसर पारेर वरिष्ठ चिकित्सक डा.अनुप बास्तोलाले नेपालमा एड्स संक्रमित हुनेहरुको संख्यासहितको पछिल्लो तथ्यांकका र यसको जोखीमबाट बच्ने उपायको बारेमा जानकारी गराएका छन् ।
डा. बास्तोलाका अनुसार नेपालमा हाल ३० हजार तीन सय जना व्यक्तिहरुमा एचआईभी संक्रमित रहेको अनुमान छ । २४ हजार ७९३ (८७ प्रतिशत) ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका छन्, जुन २०१५ मा उपचारमा रहेका संक्रमितको तुलनामा दोब्बर हो ।
डा. बास्तोलाका अनुसार यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, समलिंगी तथा तेस्रो लिंगीहरु, वैदेशिक रोजगारीमा गएका कामदार तथा संक्रमितका पार्टरन अहिले पनि एचआईभी संक्रमणको जोखिममा छन् ।‘नेपालमा एचआईभी संक्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको छ, जसमा ६८ प्रतिशत हेटेरोसेक्सुअल माध्यम रहेको छ, डा बास्तोलाको भनाइ छ ।
‘सरकारले एचआईभी संक्रमितका लागि ६३ जिल्लामा ९२ वटा एआरटी केन्द्रबाट निःशुल्क औषधि तथा अन्य उपचारको व्यवस्था गरेको छ ।संक्रमणको जोखिम हुन सक्ने अवस्थामा रहेका व्यक्तिहरुले कण्डम, प्रेप, पेप लगायत अन्य रोकथामका उपायहरुको प्रयोग गरि जोखिम न्यूनीकरण गर्न सकिने डा बास्तोलाको सुझाव छ ।
‘जोखिममा रहेकारपरेका व्यक्तिहरुले समयमै एचआईभी परीक्षण गराऔं, संक्रमण पहिचान भएमा उपचार गरौँ, डा बास्तोलाले भनेका छन्– ‘संक्रमित व्यक्तिले नियमित औषधि सेवन गरे स्वस्थ जीवन बाँच्न सक्छन् । नियमित लामो समयदेखि उपचारमा रहेका संक्रमितहरुले (नसर्ने रोगहरुको) रोगथाम, परीक्षण तथा उपचार गर्न जरुरि रहेको छ । यसले संक्रमितहरुलाई नसर्ने रोगका कारण हुने मृत्युबाट बचाउनका साथै ‘स्वस्थ बुढ्यौली’ को आधार बनाउन मद्दत गर्दछ ।’
३७औँ विश्व एड्स दिवसको शुभकामना व्यक्त गर्दै डा. बास्तोलाले भनेका छन्– ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि सबैको अधिकार सुनिश्चित गर्न सके २०३० सम्ममा एड्स महामारीको अन्त्य गर्न सकिन्छ ।’