नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित हुनु भएको छ । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका प्रा. डा. अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
लामो समयदेखि कलेजका अध्यक्ष रहनु भएका डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई अध्यक्षको पदभार गराए । पछिल्लो समय कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आएका अन्सारीलाई साधारण सभाले अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । प्रा.डा. अन्सारीसँगै साधारण सभाले डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । आफु मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताउँदै उनले भन्ने,‘अहिले निर्वाचित भएको सञ्चालक समितिमा पुराना साथीहरु नै हुनुहुन्छ । पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ । यहाँहरुले गर्नु भएको विस्वास प्रति आभार प्रकट गर्छु ।’
पछिल्लो समय चिकित्सा शिक्षा आयोगले पिजीहरुलाई दिने भत्ता सुविधा बढाउन दवाव दिएको तर, शुल्क बढाउन नदिएकाले सम्पूर्ण नीजि मेडिकल कलेजहरुले यस पटक पीजीको सिट संख्या नमागेको जिकीर गरे । आयोगले पीजीलाई मासिक ५० हजार भत्ता दिनुपर्ने निर्णय गरेपनि २३ लाख मात्र शुल्क लिएर ३ वर्षसम्म पढाउन नसकिने भन्दै प्रा.डा. अन्सारीले एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेण्टल कलेज अफ नेपाल’ले भनेअनुसार शुल्क लिन पाउनु पर्ने बताए ।
यस्तै साधारण सभामा बोल्दै कलेज सञ्चालक सदस्य डा। भोला रिजालले संस्थापक अध्यक्ष डा. सच्चे कुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विस्वास र सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाल मेडिकल कलेजको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्दै नवनियुक्त अध्यक्षले कलेजलाई नयाँ उचाईमा लैजाने विस्वास व्यक्त गरे ।
साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ । २०५४ साल फागुन २५ गते स्थापना भएको यस कलेजमा मेडिकल शिक्षाका एमविविएस, विडिएस, एमडिरएमएस, एमडिएस, विएस्सी नर्सिङ, एमएस्सी नर्सिङ विषयमा अध्ययन अध्यापन हुने गरेको छ । स्वास्थ्य सेवा तर्फ कलेजले नविनतम स्वास्थ्य उपकरण सहित विशिष्टीकृत स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने जनाएको छ ।